खेलकुद

अस्ट्रेलिया विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं, जेठ २९ । नेपालले अस्ट्रेलिया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । विश्वकप-२०२२ को एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले जित भने निकाल्न सकेन । यो हार नेपालका लागि सम्मानजनक हार हो । फिफा वरियतामा अस्ट्रेलिया नेपाल भन्दा निकै माथि रहेको छ । यस्तो टिमसम्म नेपालले जम्मा ३-० गोलले पराजित भएको हो । 

नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बू निकै ब्यस्त रहे र उनले विशेषतः दुवै हाफमा केही उत्कृष्ट बचाउ गरे । उनले अस्ट्रेलियाबाट भएका दर्जन प्रहार विफल पनि तुल्याए । 

नेपालले भने अस्ट्रेलियाको पोष्टमा एक पटक पनि प्रहार गर्न सकेन । नेपालले पूरै खेल रक्षात्मक खेल्यो । नेपाल गोल गर्नेभन्दा पनि अस्ट्रेलियालाई गोल गर्न नदिने रणनीति अनुरुप खेलेको थियो ।

जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो । समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोले । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे ।

मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए । गोल गर्ने अवस्थामा रहेका बोएलमाथि फल गरेपछि रोहितलाई रातो कार्ड देखाइएको हो । 

नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुस घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्जुरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो ।
छनोटमा अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंकमा शीर्ष स्थानमा छ । अस्ट्रेलियाको क्यानबेरामा भएको छनोटको पहिलो लेगमा नेपाल ५-० ले पराजित भएको थियो ।

नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा छ । अब नेपालले एशियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ । नेपाल कुवेतमा यसपल्ट भएका छनोटका तीन खेलमध्ये एकमा विजयी रह्यो भने दुईमा पराजित रह्यो ।