संघ \संस्था

झापामा फेरि निषेधाज्ञा एक साता थप्ने, यातायात खुलाउने तयारी

झापा, असार १३ । झापामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ ।

असार ७ गते एक साताका लागि थपिएको निषेधाज्ञा भोलि सोमबार सकिदैछ । भोलि बिहान जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले फेरि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न लागेको हो ।

‘निषेधाज्ञा त नलम्ब्याई हुँदैन’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘ त्यसबारे भोलि डिसीसीएमसीको बैठक बसेर निर्णय गर्दैछौं ।’ तर ,जारी निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै लगिने उनले बताए ।

‘थप कुन कुन व्यवसायलाई खुकुलो बनाउन सकिन्छ त्यसबारे बैठकमा छलफल गर्छौं ’उनले भने । यसअघि नै व्यापार व्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्मका लागि संचालन गर्न दिइएको छ । होटल तथा रेष्टुरेन्टहरुलाई टेक–अवे सेवा मात्र सञ्चालन गर्न दिइएको छ ।

सार्वजनिक सवारी साधन चलाउन भने रोक लगाइएको छ । सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न दिने विषयमा बैठकमा छलफल हुने अनुमान गरिएको छ ।