अर्जुनधारा, असार २७ । अर्जुनधारा नगरपालिकाले दीर्घ साहित्य सेवा पुरस्कार र दीर्घ खेलकूद सेवा पुरस्कार वितरण गरेको छ । नगरको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकूद विकास समितिले संयुक्त रुपमा आइतवार अर्जुनधारामा पुरस्कार वितरण गरेको हो ।

दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार सरोज ओली पुरस्कृत भएका छन् । उनलाई नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ओलीलाई साहित्यकार कोमलप्रसाद पोखरेलले सम्मान गरेका थिए ।

त्यसैगरी दीर्घ खेलकूद सेवा अन्र्तगत फुटवलका तर्फबाट भगीरथ आले ‘मामा’, तेक्वादोतर्फ जीतेन मेचे, करातेतर्फ नारायण सुब्बा र एथलेटिक्सतर्फ हेमनायारण चौधरीलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कोर्कीले पुरस्कृत गरेका थिए । उनीहरु ४ जनालाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दुवै कार्यक्रमको संयुक्त अध्यक्षता अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले गरेका थिए । कार्यक्रममा साहित्यकार ओलीको व्यक्तित्वको वारेमा साहित्यकार कृष्ण वरालले प्रकाश पारेका थिए । त्यस्तै खेलकूदका चारजनैको ब्यक्तित्वमाथि पत्रकार रमेश समदर्शी राईले प्रकाश पारेका थिए ।

स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रर्वद्धन समितिकी संयोजक सुशिला सुवेदीले गरेको कार्यक्रममा सम्मानित खेलाडीहरुलाई खेलकूद विकास समितिका संयोजक अर्जुन मेचेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा पत्रकार दिपिन राईले सम्मानपत्र वाचन गरेका थिए भने पुरस्कृत भगिरथ आले, पुरस्कृत सरोज ओली, प्रमुख अतिथि तथा मन्त्री कार्की, प्रमुख अतिथि पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार कुमार भट्टराईले गरेका थिए ।

