झापा, श्रावण ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ ।
च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन । एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
‘यो निर्णयको विरुद्धमा गएर पार्टीमा बस्न सकिन्न’, ज्ञवालीले भने, ‘माधवकुमार नेपालले एक्लै भए पनि एउटा बिन्दुमा पुगेकाले प्रस्तावको पक्षमा मत हाल्ने कुरा गर्नुभयो ।’
नेकपा एमालेको कार्यदलमा रहेका सदस्यहरू बिहान नेता नेपाललाई भेट्न कोटेश्वर स्थित निवास पुगेका थिए ।
‘उहाँको तर्फबाट विगतमा कार्यदलमा रहेका सदस्यले त्यसो नगर्न आग्रह गर्नुभयो’, ज्ञवालीले भने, ‘आफू अल्पमतमा रहेका बहुमतको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने भन्नुभयो । पार्टी एकताबद्ध बनाएर लैजान तयार देखिनुभएन ।’
ज्ञवालीले नेता नेपाल अर्कै कोर्समा हिँड्न खोजेको बताए ।
ज्ञवालीका अनुसार कार्यदलका ९ सदस्य माधव नेपालको निवास पुगेका थिए ।

