मेचीनगर, साउन २० । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा आजबाट लगाईंदै छ ।
आज र भोलि गरी दुई दिनसम्म चल्ने खोप अभियान सञ्चालन गर्नका लागि मेचीनगरमा वडागत विभाजन गरिएको छ ।
१५ वडा रहेका मेचीनगरमा बुधबार सात वटा वडा र बिहीबार आठ वडामा खोप लगाईंने नगर स्वास्थ्य शाखाले जनाएको छ । खोप लगाउनका लागि नेपाल सरकारले ५० देखि ५४ वर्ष उमे्र समूह छुट्याएको छ ।
आज खोप लगाईंने वडाहरुमा १, २, ५, ६, ९, १२ र १४ रहेका छन् । साथै लक्षीत समूहका लागि नगरपालिकाबाटसमेत खोप दिईंदै छ ।
नगरपालिकामा यस अघि छुटेका स्वास्थ्यकर्मी, अशक्त, अपाङ्ग, भिसा लागेका नागरिकलगायतलाई खोप दिइने छ । बाँकी रहेका वडाहरुमा भने भोलि(बिहीबार) खोप लगाईने छ ।
मेचीनगरमा जोन्सन एण्ड जोन्सनको खोप अभियानलाई व्यवस्थित बनाउन खोप लगाउने ब्यक्तिहरुले यस अघिनै कुपन लिनु पर्ने व्यवस्था गरिएको छ ।

