संघ \संस्था

काँकरभिट्टा रोट्रयाक्टको तीन दिने रगत संकलन अभियान

मेचीनगर, साउन ३० । रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा रगत संकलन अभियान सुरु भएको छ ।

शनिबार काँकरभिट्टाबाट सुरु भएको अभियान तीन दिनसम्म चल्ने छ ।

झापामा बढ्दो रगत अभावलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष पुस्कर बस्नेतले जानकारी दिए ।

रोट्रयाक्टको आयोजनामा सम्पन्न कार्यक्रममा ३१ पुरुष र ९ महिला गरी कुल ४० जनाले रक्तदान गरेको क्लबका अध्यक्ष बस्नेतले बताए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा क्लबका सदस्य, सुरक्षाकर्मी तथा स्थानीयले रगत दान गरेका थिए ।

दोस्रोे दिन आइतबार इटाभट्टा तथा तेस्रो दिन सोमबार धुलावारीमा रगत संकलन गरिने क्लबका सचिव सुमन धिमालले बताए ।

क्लबका अध्यक्ष बस्नेतको सभापतित्व तथा रोटरी क्लव अफ काँकरभिट्टा अध्यक्ष रोहितकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव धिमालले गरेका थिए ।