स्वास्थ्य

कोरोना कहरबिच मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

ललितबहादुर प्रधान
मेचीनगर, भदौ १३ ।
जिल्लामा रगत अभावलाई टार्न कोरोना भाइरस (कोभिड १९) का बिच मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले २७ अौ विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरको प्राविधिक सहयोग भएको कार्यक्रमा ४ महिला र ३५ पुरुषसहित ३९ जनाले रक्तदान गरेको परिषद अध्यक्ष ओमप्रकाश खापुङ्ग जानकारी दिए ।

मेचीनगर ६ स्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अहिले जिल्लामा रगत अभाव भइरहेका बखत नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले यस्तो महान कार्य गरेको भन्दैं प्रशंसा गरे । उनले रगत दान गर्नु भनेको कसैलाई नयाँ जीवन प्रदान गर्नु हो भन्दैं यस्तो मानवीय कार्यमा जुट्न सवैलाई आग्रह समेत गरे ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, परिषदका झापाका अध्यक्ष भरत श्रेष्ठलगायतले बोलेका थिए ।