काठमाडौं, भदौ १४ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । तर, यसपालि कोरोना कहरका कारण मठ मन्दिरमा सामाजिक दुरी कायम गरि वा घरमै भगवान् श्रीकृष्णको पुजा आराधना गरि मनाइने भएको छ ।
‘श्रीकृष्णजन्माष्टमी’ अवसरमा देशैभर सार्वजनिक विदा
यस बिचमा कृष्ण जन्मअष्टमीको अवसरमा नेपाल सरकारले देशैभर आज सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कृष्ण जन्मअष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


