बाबा शब्द मिलेर ओठ दुइटा जो हुन्छ उच्चारण
बाबा शब्द म दन्तपङ्क्ति नहुँदा भन्थेँ त्यसै कारण ।
बाबा शब्द सिकेछु बालवयमा माया हुनाले छिटो
बाबा शब्द विशेष आज र हिजो वा भोलि उस्तै मिठो ।।
बाबा काम परेर बाहिर गई कैले नफर्के छिटो
बाबा आउनु हुन्छ है अब भनी हेरेर बस्थ्यो ठिटो ।
बाबा पर्खनुको उमङ्ग भरिई खानै म भुल्थेँ लिटो
बाबासाथ गऱ्यो कि भोजन सबै लाग्थ्यो मलाई मिठो ।।
बाबा सागर हुन् म बूँद जलको,आकाश जस्तै खुला
बाबा व्योमसमान व्याप्त,भवका हुन् सृष्टिकर्ता ठुला।
बाबा पौरख-बिम्ब हुन् गुरु ठुला, कर्तव्यका सागर
बाबाभित्र सदाबहार छ खुसी पाएँ उही जाँगर ।।
बाबा आउनुहुन्छ मात्र अभिधा हो अर्थ हुन्थ्यो बढी
बाबा ल्याउनुहुन्छ अर्थ गहिरो हुन्थ्यो प्रतीक्षा घडी ।
बाबा फर्कनुहुन्छ उत्सुक हुँदै हेरेर बस्थ्यौँ घडी
बाबा झर्कनुहुन्छ तापनि मिली बस्थ्यौँ लुकाई छडी ।।
बाबामा अभिभावकत्व गहिरो, झन् न्यायको चेत छ
बाबा दुर्लभ प्राप्ति हो फसलझैँ फल्ने कहाँ खेत छ ?
बाबा साथ भए उपेक्षित निकै, टाढा भए सम्पदा
बाबा हात समाउँथे भर दिई हिँड्थेँ म सानो छँदा ।।
बाबा कोट फुकाल्दथे जति छिटो गोजी म छाम्थेँ तर
बाबाको मुख चल्दथ्यो कि मनमा थप्थ्यो नयाँ जाँगर।
बाबाको मुख खोल्न हात दुइटा साँचो बनेका थिए
बाबा बन्न कहाँ रहेछ सजिलो साँचो भनेका थिए ।।
बाबा शब्द भनी,सुनेर कहिले हुन्थेँ कठै वाक्क म
बाबा शब्द पढेर अर्थ कति पो बुझ्थेँ भई विज्ञ म ।
बाबा शब्द पवित्र मन्त्रसरिको सर्वोच्च प्यारो सही
‘बाबा’माथि गरेर वर्णन कहाँ के लेख्नु जान्ने भई।। जयप्रसाद आचार्य साहित्यकार, मेचीनगर, झापा

