राजनीति

सीके राउतले जनमत पार्टी दर्ताका लागि दिए निर्वाचन आयोगमा निवेदन

काठमाण्डौ, बैशाख १६ । मधेसमा विखण्डनको अभियान चलाईरहेका डा. सीके राउतले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् ।

जनमत पार्टीको नाममा राउतले आइतबार दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि दिइएको निवेदनमा राउत अध्यक्ष रहने गरी ३५ जना केन्द्रीय सदस्य हुने उल्लेख छ ।

केन्द्रीय समितिमा १२ जना महिला, दलित समुदायबाट ६ जना र मुस्लिम समुदायबाट ४ जनालाई समावेस गरिएको छ ।

सरकारसँग गएको फागुन २४ गते भएको ११ बुँदे सम्झौतापछि चैत ४ गते सिराहाको लहानमा बसेको बैठकले स्वतन्त्र मधेस गठबन्धन भंग गरी जनमत पार्टी गठन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

स्वतन्त्र मधेस गठबन्धनका बेला प्रयोग गरेको नारा फेर्दै अहिले ‘जनमत दो, आजादी लो’ भन्ने नारा पनि पार्टीले तय गरेको छ ।

Leave a Reply

Your email address will not be published.