काठमाडौं, भदौ २४ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ ।
विहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।
त्यस्तै बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काइन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।
एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

