
युवराज आचार्य
झापा, बैशाख १६ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको तेस्रो क्वार्टरफाइनल खेलमा पुलिसले भुटानलाई ३–० गोल अन्तरमा पराजित गरेको हो । पुलिसले अब बुधबार अन्तिम दुईका लागि पहिलो सेमीफाईनल खेलमा संकटा क्लब संग प्रतिस्पर्धा गर्ने भएको छ ।

भुटान बिरुद्ध हावि भएको पुलिसको लागि पहिलो हाफको अतिरिक्त समयमा कप्तान भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा पुलिसको तर्फ बाट गोल गर्दै रवि पासवानले अग्रता दोब्बर बनाए । खेलको ५८औँ मिनेटमा रविले नै अर्को गोल गरेर व्यक्तिगत दुई गोल गर्न सफल भए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पुलिसका रवि पासवान म्यान अफ दि म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले नगद एघार हजार र ट्रफी प्रदान गरे ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । मंगलबार हुने अन्तिम क्वाटरफाईनल खेल रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र माईभ्याली फुटबल क्लब ईलाम बीच दिनको ४ बजे हुनेछ ।

