खेलकुद

माईभ्यालीलाई पराजित गर्दै थ्रीस्टार सेमीफाईनलमा प्रवेश

युवराज आचार्य
झापा, बैशाख १७ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत मंगलबार भएको खेलमा रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौंले माईभ्याली फुटबल क्लब ईलामलाई १–० गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । अब अन्तिम दुईका लागि बिहिबार सेमीफाईनल खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब संग प्रतिस्पर्धा गर्ने भएको छ ।

थ्रीस्टारको जितका लागि डिफेन्स अनन्त तामाङले खेलको दोस्रो हाफको ४१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । सुशिल राईको क्रस पासमा तामाङले माइभ्यालीका गोलरक्षक सोजित गुरुङ विट भएको अवस्थाको मौका पारेर प्रहार गरेको बलले गोलपोष्टको दायाँबारमा लागेर भित्र पसेको थियो । निकै प्रतिस्पर्धात्मक भएको प्रतियोगितामा दुवै टिमले थुप्रै अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने थ्रीस्टारका सुशिल राई म्यान अफ दी म्याच घोषीत भए । उनलाई नगद ११ हजार रुपैयाँ मेचीनगर नगरपालिका खेलकुद विकास समितिका संयोजक नविन बरालले प्रदान गरेका थिए ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । बुधबार हुने पहिलो सेमीफाईनल खेल सिएमजी संकटा क्लब काठमाण्डौं र विभागिय टिम नेपाल पुलीस बीच दिनको ४ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published.