झापा । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) देशभर एकसाथ वडा अधिवेशन हुँदैछन्। वडा अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयका अनुसार कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने तयारी पूरा गरिसकेकामा केहिदिन अघिदेखि आएको बेमौषमी बर्षासहितको बाढी र पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ।
यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक राख्दै छ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेले दसौँ महाधिवेशन चितवनमा गर्दै छ। एमालेले २०७७ चैत मसान्तसम्म पार्टीको सदस्य बनेकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य मानेको छ।
महाधिवेशन हुने चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी एमालेले गरेको छ। महाधिवेशनका लागि एमालेले नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले गठन गरेको व्यवस्थपन समितिमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई सहसंयोजक बनाइएको छ।

