अर्थ संघ \संस्था

ज्येष्ठ नागरिकलाई सम्मानसहित ब्ल्याङ्केट वितरण

मेचीनगर । जाडो मौसम सुरु भएसंगै झापाको मेचीनगरमा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित ब्ल्याङ्केट वितरण गरिएको छ ।

समाजमा इतिहासका रुपमा हेरिँदै आएका अग्रज एवम् ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बिच बुधबार मेचीनगर–८ वडा कार्यालय परिसरमा सम्मानसहित ब्ल्याङ्केट वितरण गरिएको हो ।

मेचीनगर ८ वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा ब्ल्याङ्केट वितरण कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले यस्ता सेवामुखी कार्यक्रमले समाजमा सबैलाई सकरात्मक बन्न प्रेरित गर्ने बताए ।

७५ वर्षदेखि ७८ बर्ष उमेर समुहका वडाका ६१ जना ज्येष्ठ नागरिकहरुलाई उनीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको आयोजक जेष्ठ नागरिक मेचीनगर–८ वडा समिति अध्यक्ष टिकाराम न्यौपानेले बताए । उनका अनुसार सम्मानका क्रममा ज्येष्ठ नागरिकहरुलाई खादा तथा अबिर लगाउनका साथै चिसो मौसम सुरु भएसंगै जाडोमा न्यानो पार्न ब्ल्याङ्केट एक एक थान प्रदान गरिएको बताए ।

कार्यक्रममा मेचीनगर ८ वडासदस्यद्वय गंगा पाठक र सन्तोष मेचे, नेकपा एमाले मेचीनगर ८ वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका उपाध्यक्ष कुलदिप गिरीले स्वागत गरेको कार्यक्रम सञ्चालन समितिका सदस्य कुन्दन निरौलाले गरेका थिए ।