
झापा । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको बिरुद्ध झापामा विरोध प्रदर्शन गरेको छ । झापाको पश्चिममा दमक तथा पूर्वमा मेचीनगरमा छुट्टाछुट्टै विरोध प्रदर्शन गरी नेकपाका नेता तथा कार्यकर्ताले सरकार बिरुद्ध चर्को नाराबाजी गरेका थिए।
विरोध प्रदर्शनमा मूल्यवृद्धिका बिरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, नालायक सरकार राजिनामा दे , भ्रष्टाचारी सरकार मुर्दावाद, दलाल सरकार मुर्दावाद लगायतका नाराबाजी गर्दै टायर समेत बालेका लिए ।
विरोध प्रदर्शन पश्चात् दमकमा भएको कोणसभामा बोल्दै नेकपाका जिल्ला कार्यालय सचिव सञ्जय राईले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबैलाई अपिल गरेका थिए।
यता मेचीनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर इन्चार्ज जितले सरकारले जनताको भावनालाई लत्याएर एकलौटी ढंगले अगाडि बढ्ने दुस्साहस गरेको भन्दै यसका बिरुद्ध पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायलाई प्रदर्शनमा उत्रन अपिल गरेका छन् ।


