काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्मको मतगणनामा लिङ्देनको अग्रता छ ।
पार्टी निर्वाचन आयोगका अनुसार अहिलेसम्म पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् । अब ९०९ मत मात्रै गन्न बाँकी रहेको बताइएको छ ।
अबको केहिबेरमा नै मतगणनाको अन्तिम नतिजा आउृने पार्टी निर्वाचन आयोगले जनाएको छ । राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।
समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

