नवराज सुवेदी
झापा । झापाका २ स्थानीय तहमा दाताले उपलब्ध गराएको भेन्टिलेटर प्रयोगविहिन अवस्थामा रहेको पाइएको छ । जिल्लाको विर्तामोड र अर्जुनधारा नगरपालिकाले गत जेठमा नै प्राप्त गरेको भेन्टिलेटर अझै प्रयोगमा ल्याउन सकेका छैनन् ।
जतिबेला कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो, अस्पतालमा बेड समेतको अभाव थियो भने अक्सिजनको चरम हाहाकार थियो, त्यसबेला संक्रमितको उपचारमा सहजता ल्याउन आनी छोइङ डोल्मा फाउण्डेशनले सहयोग स्वरुप अर्जुनधारा र विर्तामोडलाई १ १ थान भेन्टिलेटर उपलब्ध गराएको थियो ।
तर सो भेन्टिलेटर अहिलेसम्म न अर्जुनधाराले प्रयोग गरेको छ न विर्तामोडले नै । बन्द कोठाभित्र प्लास्टिकले छोपेर राखिएको छ । गत जेठमा भेन्टिलेटर प्राप्त गरेको अर्जुनधाराले वडा नं ४ को स्वास्थ्य चौकीमा लगेर उक्त भेन्टिलेटर राख्यो तर प्रयोगमा ल्याउन भने सकेन ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव रिजालका अनुसार दक्ष जनशक्ति नहुँदा उक्त भेन्टिलेटर प्रयोगविहिन बनेको हो । “हामीसगँ जनशक्ति नै छैन, भेन्टिलेटर सञ्चालनका लागि विभिन्न उपकरणका साथै दक्ष जनशक्ति चाहिन्छ ।” उहाँले भन्नुभयो “उक्त उपकरण र जनशक्ति दुवै नभएका कारण हामीले भेन्टिलेटर सञ्चालन गर्न नसकेका हौँ ।”
अर्जुनधारामा मात्रै कोरोना संक्रमणका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भएको स्वास्थ्य शाखासगँ तथ्यांक छ । नगरमा भेन्टिलेटर प्रयोगविहिन बनिरहँदा नगरवासीहरु उपचारका लागि भद्रपुर, विर्तामोड धाउनुपर्ने बाध्यता छ । भेन्टिलेटर आवयश्यक पर्ने विरामी महँगो मुल्य तिर्दै निजि अस्पताल जानुपर्ने अवस्था पनि छ ।
तरपनि नगरपालिकाले भेन्टिलेटर सञ्चालनका लागि खासै पहल गरेको छैन । अझ स्वास्थ्यकर्मीले त आवयश्यक नै नपरी भेन्टिलेटर दिएका कारण प्रयोगमा नआएको बताउँछन् । “हामीलाई भेन्टिलेटर नदिएको भएपनि हुन्थ्यो, जनशक्ति नै नभइकन भेन्लिेटर ल्याउँदा प्रयोगिविहिन भयो ।” नगरपालिकाका एकजना स्वास्थ्य कर्मचारीले भनेका छन् ।
अहिले पनि भेन्टिलेटर स्वास्थ्य चौकीको बन्द कोठाभित्र राखिएको छ । जुन कोठामा ताला लगाइएको छ । जसको चाबी स्वास्थ्य चौकीका कर्मचारीसगँ पनि छैन ।

यसरी महिनौँसम्म अलपत्र परेको लाखौँ मुल्यको भेन्टिलेटर अब कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि नगरपालिकाले योजना नबनाएको स्वास्थ्य शाखा प्रमुख रिजाल बताउनुहुन्छ ।
“अहिलेसम्म भेन्टिलेटर कसरी चलाउने भन्नेबारे छलफल भएको छैन, अब छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।” उहाँले भन्नुभयो । अर्जुनधाराको मात्रै होइन यता विर्तामोडको अवस्था पनि उस्तै छ । अर्जुनधारासगैँ विर्तामोडले पनि एकै किसिमको भेन्टिलेटर प्राप्त गरेको थियो । तर विर्तामोडमा पनि बन्द कोठाभित्र थन्किएको छ । नगर स्वास्थ्य शाखा प्रमुख तुलसी पोख्रेलका अनुसार यहाँपनि जनशक्ति कै अभावमा भेन्टिलेटर थन्किएको हो ।
एकातिर कोरोना संक्रमणले समुदाय स्तरमा व्यापक रुप लिइरहेको छ भने देशैभर संक्रमणको गति तिव्र रुपमा बढिरहेको छ । झापा पनि संक्रमणको उच्च जोखिममा छ । यसरी संक्रमणको जोखिम चौतर्फी बढिरहँदा संक्रमितको उपचारका लागि अत्यावयश्यक भेन्टिलेटर भने अलपत्र अवस्थामा छ ।
अझ स्वास्थ्य क्षेत्रका अधिकारीहरु त आवयश्यक नै नपरी दाताले भेन्टिलेटर दिएका कारण प्रयोगमा नआएको बताउँछन्् । के हाम्रो नगरपालिका दाताले दिएको भेन्टिलेटर पनि प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको हो र ?

