मेचीनगर । क्यान्सर रोगबाट पीडित बनेका झापा मेचीनगर–८ बिरेन्द्र स्मृति नगर टोलका १७ बर्षीय नविन फुयलको उपचारका लागि ईजरायलमा हुने नेपालीबाट आर्थिक सहयोग प्रदान भएको छ ।
मेरुदण्डको क्यान्सर प्रमाणित भए पछि उपचारर्थ फुयलको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचारमा समस्या भएको भन्ने हाम्रो खबरपाटीलगायत विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अहिले विभिन्न देश तथा विदेशबाट सहयोग रकम आउनेक्रम बढ्दै गएको परिवारले जनाएको छ ।
यसैबिच मेचीनगर–८ प्रतिभा चोक हाल इजरायलमा रोजगारीका शिलशिलामा रहेकी दुर्गा श्रेष्ठको नेतृत्वमा फुयालको उपचारमा सहयोग पुर्याउने उदेश्यले रकम संकलन गरी नगद ८१ हजार नेपाली रुपैयाँ नेपाल पठाएका छन् ।

नवीनको उपचारमा करीब ३० लाख नेपाली रुपैया खर्च हुने उनकी आमा सुमित्रा फुयलले बताइन् । नविनलाई बचाउन रकम संकलन गर्ने अद्देश्यले स्थानिय स्थानीय उदय भण्डारीको संयोजकत्वमा नविन फुयल बचाउन अभियान समेत गठन गरिएको छ ।
नविनको उपचार खर्च जुटाउन सहयोगी दाताहरुलाई आग्रह गर्दै भण्डारीले भने, ‘एउटा प्रतिभाशाली युवकको जीवन बचाउन सबैले सकेको आर्थिक सहयोग गरिदिनु होला ।’ भण्डारीका अनुसार प्राइम बैंकमा उपचार कोषको खाता समेत खोलिएको छ ।
संयोजक उदयकुमार भण्डारी, सचिब रिजेस प्रधान र नविनकी आमा सुमित्रा फुयलको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी प्राईम बैंक इटाभट्टामा खाता नंं १०७००३४९ एस ए खाता सञ्चालन गरिएको र उक्त खातामा रकम जम्मा गरिदिएर नविनको जीवन रक्षाका लागि सहयोग गरिदिन हुन बचाउ समितिले सबैमा आग्रह गरेको छ ।

