बाहुण्डाँगी । नवलपुर जेसीजले प्राप्त गरेको जग्गाको धनीपुर्जा आइतवार प्राप्त गरेको छ । स्थानीय समाजसेवी तथा संस्थाका मानार्थ सदस्य टंकप्रसाद लुइँटेल र मनकुमार शर्माले संस्थाका नाममा दिइएको १४ धुर जग्गाको धनीपुर्जा औपचारिक रुपमा मालपोत कार्यालय नवलपुर कावासोतीबाट प्राप्त भएको छ । नवलपुर जेसीज सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्रको नाममा रहेको उक्त धनीपुर्जा जग्गादाताद्धय लुइँटेल र शर्माले २०२० का अध्यक्ष नारायणप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो ।

२०२० का अध्यक्ष न्यौपानेकै कार्याकालमा साधारणसभाबाट पास भएर संस्थाका नाममा जग्गा प्राप्त गर्नका लागि प्रक्रिया अगाडी बढाइएको थियो । २०२१ मा पुस्ताकालय दर्ता गरिएको थियो । संस्थाका नाममा प्राप्त भएको जग्गाले संस्थाको गतिशिलतालाई अझ टेवा पुगेको बताउँदै पूर्व अध्यक्ष नयौपानेले सामुदायिक पुस्तकालयसहितको भवन निर्माण गर्ने बताउनु भयो ।

२०२२ की अध्यक्ष राधिका भुषालले संस्थाले प्राप्त गरेको जग्गामा यसै बर्ष भवन निर्माण प्रक्रियालाई अगाडी बढाउने बताउनु भयो । अध्यक्ष भुषालले संस्थाले भवन निर्माणका लागि आवश्यक प्रक्रिया पुरा गर्न पूर्व अध्यक्ष तथा बोर्डका पदाधिकारी र सदस्यहरुबिच छलफल गरि अघि बढ्ने बताउँदै अबको अभियान सुविधासम्पन्न भवन निर्माण रहने बताउनु भयो । उक्त जग्गा कावासोती नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।

