मेचीनगर, १७ फागुन । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक मात्र हेर्ने गरेको भन्दै मेचीनगरका युवाहरुको संस्था थिङ्कर्स क्लवले दुर्घटना गराउने अन्य कारणहरुका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ ।
क्लवले सवारी दुर्घटनाको धेरैवटा कारण भएको र चेकजाँचका क्रममा ती कुरामा पनि ध्यान पुर्याउन सुझाव दिएको छ ।
क्लवका सदस्यहरुले विर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई नौ बुँदे ज्ञापन पत्र समेत बुझाएको क्लवका संस्थापक सदस्य अनुज दाहालले बताए ।
ज्ञापन पत्रको पहिलो बुँदामा सवारी साधनहरुको साइड लाइट, ब्रेक लाइट, लुकिङ ग्लास र हेडलाइटको चेकजाँचमा ध्यान दिन अनुरोध गरिएको छ ।
यी कुराहरु चालु अवस्थामा नरहँदा र चालकले उचित प्रयोग नगरिदिदा सवारीको क्रममा अघिपछिका यात्रु झुक्किन गई दुर्घटना हुने गरेको क्लवले स्मरण गराएको छ ।
अनयिन्त्रित गतिमा सवारी चलाउने, ओभरटेक गर्ने, अनावश्यक स्टन्ट गर्ने, सिटी रिक्सा तथा अटो रिक्साले जथाभावी बाटो काट्ने, यात्रुवाहक बसहरुले जथाभावी रुपमा यात्रु चढाउने र ओराल्ने, राति चलाइने सवारीले लाइटहरुको प्रयोग सही ढंगले नगर्ने आदिका कारण सवारी दुर्घटना बढिरहेको क्लवले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
‘सवारी दुर्घटनाबाट मानवीय क्षतिका घटना धेरै मात्रामा बढिरहेका हुँदा यो विषयमा ध्यानाकर्षण गराउन जरुरी छ भन्ने हामी युवाहरुलाई लाग्यो,’ क्लवका सदस्य दाहालले भन्छन्–‘हाम्रा सुझावहरुलाई ट्राफिक प्रहरी कार्यालयले अवश्य पनि सकारात्मक रुपमा लिनेछ र सुझावहरुको कार्यान्वयन गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’
के हो यो क्लव रु
मेचीनगर–१० धुलावारी क्षेत्रका युवाहरुले हालै स्थापना गरेको एउटा साझा मञ्च हो यो क्लव ।
संस्थापक सदस्य दाहालका अनुसार यसले समाजमा भएका विकृति, विसंगति र युवा समस्याका बारेमा हरेक शनिवार विचार विमर्श गर्ने कार्यक्रम अघि सारेको छ ।
छलफलबाट समस्याको समाधान खोज्ने कार्य हुनेछ । हालैका छलफलमा सवारी दुर्घटना र ट्राफिक चेकजाँचका विषयमा सम्बन्धित निकायको ध्यानाकृष्ट गराउने निधो भएको थियो ।
क्लवले दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने समेत सोच बनाएको बताइएको छ ।

