
झापा । पाँचौँ संस्करण झापा गोल्डकपको आज दोस्रो दिन ए डिभिजनका दुई टिम प्रतिस्पर्धा गर्दैछन् ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा संकटा युवा क्लबको सामाना नेपाल पुलिस क्लबले गर्दैछ । ए डिभिजन लिगमा संकटा सातौँ र पुलिस ११औँ स्थान रहेका टिम हुन् ।
यी दुई टिम बिचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
त्यस्तै प्रतियोगिताको शनिबार सम्पन्न उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ ।
फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकका अध्यक्ष विनोद बस्नेतले बताए ।

