खेलकुद

झापा गोल्डकपः पाहुना टोली दार्जिलिङलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

झापा । विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपमा पाहुना टोली भारत दार्जिलिङको एम एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक/एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपे ।

उनले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरे । खेल अवधिमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेनन् ।

खेलको सुरुवाती १९ औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।

६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरयो । ७८ औँ मिनेटमा एम एफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् ।

८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए । बुधबारको खेलको प्लेयर अफ द म्याच आर्मीका विकास तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलको खेल बिहीबार घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ ।