झापा । नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ्ग गर्दा झापामा आम सेवाग्राहीलाई समस्यामा उत्पन्न भएको छ । विगत केही हप्तादेखि विनाजानकारी प्राधिकरणले झ्याप्प-झ्याप्प बिजुली काट्ने कार्य जारी राख्दा यतिबेला झापाका सेवाग्राही हैरान खेप्न बाध्य छन् ।
प्राधिकरणको लापार्वाहीका कारण विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा दैनिक जिवन यापनमा समस्या हुने गरेको सेवाग्राही बताउँछन् । गर्मीको समय विना जानकारी बत्ती झ्याप्प झ्याप्प जाँदा आफुहरुलाई समस्या हुने गरेको उनीहरुको भनाई छ । त्यस्तै विद्युत आपूर्ति अवरुद्ध हुँदा व्यपार व्यवसाय तथा उद्योगहरुमा पनि समस्या भएको उद्योग व्यवसायीहरु बताउँछन् ।
गर्मीको समय विना जानकारी बत्ती झ्याप्प झ्याप्प जाँदा घरायसी कामदेखि, कृषि क्षेत्रसंगै सरकारी कार्यालयहरुको कामकाजमा समेत प्रत्यक्ष असर पुर्याएको भन्दै जनप्रतिनिधिले पनि यस समस्या समाधान गर्न सम्बन्धित निकायलाई बारम्बर जानकारी गराएको बताउँछन् ।
अहिले बिशेषगरी झापाको मेचीनगर, विर्तामोड, कनकाई, शिवसत्ताक्षी, दमकलगायतका क्षेत्रमा बढी समस्या भएको सेवाग्राहीको गुनासो छ । नागरिकलाई अनावश्यक विद्युत आपूर्ति अवरुद्ध गरेर शास्ती दिएको भन्दै यस्तो कार्य तत्काल बन्ध गर्न नेकपा एमाले मेचीनगरले विद्युत प्राधिकरण धुलाबारी शाखालाई चेतावनी दिदै कार्यालय घेराउ समेत गरेको छ ।
यता विद्युत प्राधिकरण भने झापामा सेवाग्राहीले भने जस्तो अवस्था नरहेको बताउँछ । गर्मी याममा सिँचाइ, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको सरोकारवाला निकाय बताउँछ ।

