खेलकुद

खुदुनाबारीमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने

झापा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थित कैदलेको प्राकृतिक खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने आयोजक च्यारिटी युथ क्लब (सीवाईसी)ले जनाएको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ । यसअघि सीवाईसीको आयोजनामा २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकप सम्पन्न भइसकेको छ ।

विजय दशमी पर्वलाई लक्षित गरेर संचालन हुने फुटबल प्रतियोगिता आगामी असोज ९ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल फूलपातीको दिन हुने प्रतियोगिता मुल आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिइन् ।

जुनतारा महिला फुटबल क्लब सहआयोजक रहेको प्रतियोगितामा उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको टिम सहभागी हुने प्रतियोगिताका खेल संयोजक याम खवासले जानकारी दिए ।

करिब २० लाख खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको आयोजकले जनाएको छ।

मगरको अध्यक्षतमा गठित समितिको उपाध्यक्षमा सुर्य इम्बुङ व्यवस्थापन संयोजक, याम खवास खेल तथा कार्यक्रम संयोजक, सचिव लिला बल्लभ खतिवडा आर्थिक संयोजक, सहसचिवमा तेजमाया राई अतिथि सत्कार संयोजक र सन्ध्या रिजाल स्वयं सेवक परिचालनमा रहेका छन् ।

यस्तै, अनुगमन संयोजकमा शुक्रराज (दिपक) दुलाल, लेखा संयोजकमा कञ्चन काफ्ले, सल्लाहकार संयोजकमा ढुण्डिराज गौतम र प्रचार प्रसार संयोजकमा युवराज चाँपागाई, तथा सांस्कृतिक संयोजकमा साजन तामाङ रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने छन् । उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छन् ।