बाहुण्डाँगी । पोखरा जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह २०२२’ मनाउने भएको छ । जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी भदौ १७ देखि २३ गते सम्म सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं मुल संयोजक जेसी कुशल पौडेलले रक्तदान कार्यक्रको आयोजना, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण र सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिने बताए ।
त्यस्तै कृषि सचेतना तथा माटो परिक्षण, साइबर क्राइम सम्बन्धि सचेतना र सातौं तथा अन्तिम दिन ‘‘युवा नेतृत्व र उद्यमशिलता’ र ‘सफलताको लागि सहकार्य’ शिर्षकमा गण्डकी युवा वक्ता वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने पौडेलले बताए । प्रतियोगितामा प्रथम,, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने प्रतियोगितलाई १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
जेसीजले आफ्नो स्थापनाकालदेखि नै १८ देखि ४० बर्ष सम्मका युवाहरुलाई लक्षित गरी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तित्व र नेतृत्व विकासका लागि सक्रिय रुपमा कार्यहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष जेसी मिनराज खड्काले बताउनु भयो। विभिन्न कार्यहरुमार्फत पोखरा जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अब्बल सावित गर्न सफल भएको उनको भनाइ छ । निवर्तमान अध्यक्ष जेसी इन्जिनियर किरण केसीले जेसीज सामाजिक संस्थामात्र नभइ युवाहरुको संस्था समेत भएको बताउनु भयो ।
सात दिवशीय कार्यक्रमका लागि ३ लाख १० हजार रुपैयाँ खर्च लाग्ने महासचिव जेसी प्रकाश घिमिरेले जानकारी दिनु भयो । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कृषि बिकास बैंक लमिटेड रहेको छ । एक्सपर्ट एकुजेशन सहप्रायोजकका रुपमा रहेको छ भने डिस मिडिया नेटवर्क, कुटी रिसोर्ट, कुमारी बैंक लिमिटेड, सर्वोत्तम सिमेन्ट, सर्वोत्तम स्टिल, वृज सिमेन्ट, सुन्दर सोफा तथा फर्निचर उद्योग, एल।एस मोटर्स निशान कम्पनी प्रायोजक संस्थाका रुपमा रहेका छन् ।
सन् १९६४ मा स्थापना भएको नेपाल जेसीज अन्तर्गत १ सय ७४ शाखा रहेका छन् । पोेखरा जेसीजमा हाल १ सयजना युवाहरु आवद्ध रहेका छन् ।

