झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब देशमा ठुल–ठुला परिवर्तन आवश्यक नरहेको बताएका छन् ।
शुक्रबार गृह जिल्ला झापाको बाहुण्डाँगी स्थित आफ्नै निर्वाचन क्षेत्रमा झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको शालिक अनावरण गर्दै उनले देशमा धेरै ठुल–ठुला परिवर्तनहरु भइसकेको बताउँदै अब स–साना सुधारहरु आवश्यक रहेको बताएका छन् ।

हामीले धेरै खाले परिवर्तनहरु देशमा ल्याइसक्यौं । धेरै सहिदहरुले देश र जनताको लागि रगत बगाउँदै आफ्नो ज्यान गुमाइसके । अब ती सहिदको त्याग र बलिदानले सजिएको सपना पुरा गर्नुछ । महामन्त्री शर्माले भने, देशमा भएका परिवर्तन र उपलब्धीहरुलाई संस्थागत रुपमा संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले देश र जनतालाई समृद्धिको बाटो तर्फ लैजान सबैले आफ्नो स्वार्थ छाडेर अग्रसर हुनेपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले देश र पार्टीले चिनेको व्यक्तिलाई झापा क्षेत्र नं १ ले चिन्न नसकेको भन्दै दुःख व्यक्त गरे ।
शहिदको भुमि बाहुण्डाँगीमा अघिल्लो दुईवटा निर्वाचनमा विश्वप्रकाश शर्मा पराजित हुँदा तुलनात्मकरुपमा विकास हुन नसकेको भन्दै झापा क्षेत्र नं १ बासीलाई अब त्यस्तो गल्ती नर्गन आग्रह गरे ।

आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा गठबन्धनका तर्फबाट यस क्षेत्रबाट कसले टिकट पाउछ भन्ने अन्योल नरहेको बताउँदै उनले भने यस क्षेत्रबाट शर्माले नै टिकट पाउनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे ।
शालिक अनावरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सरिता प्रसाई, पार्टीका केन्द्रिय सदस्य गोमा भट्टराई, प्रदेश नं. १ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबे, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेकपा एकीकृत समाजबादीकी सविता भण्डारीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा शहिदका २ जना परिवारलाई अभिनन्दन गरिएको छ । अभिनन्दीत हुनेमा शहिदका स्व.जेठा छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा सहिद विश्वनाथ घिमिरेका नाति निरज घिमिरेले गरेका थिए भने सभापतित्व प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले गरेका थिए ।

