राजनीति

मौन अवधिमा पनि आचारसंहिता विपरीत भोट माग्दै शर्मा

झापा । आसन्न मंसिर ४ को निर्वाचनकाे प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ।

मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै पनि तवरबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ।

यता AT Alert बाट विश्वप्रकाश शर्माको नाममा विभिन्न व्यक्तिहरुलाई मोबाइल नम्बरमा म्यासेज मार्फत विश्वप्रकाश शर्मालाई मत दिन भनिएको छ।

मौन अवधि शुरु भैसकेकाले यसरी मत माग्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताउँदै झापा क्षेत्र नम्बर -१ का निर्वाचन अधिकृत टंक बहादुर महतले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसंहिता विपरीत गतिविधि गर्ने उम्मेदवारलाई कानुनी कारबाही हुने बताएका छन्,।

झापा क्षेत्र नम्बर -१ निर्वाचन क्षेत्र भौगोलिकरुपमा मेचीनगरको १५ वटै वडा, बुद्घशान्ति गाउँपालिकाका ४,५,६ र ७ गरी चारवटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० दुईवटा गरी २१ वटा वड यो क्षेत्रमा पर्छन् ।