संघ \संस्था

‘हाम्रो संस्कृति र पहिचान साझा हुन’ सांसद विश्वप्रकाश शर्मा


बाहुण्डाँगी । झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सांसद विश्वप्रकाश शर्माले ‘नेपालीको संस्कृति र पहिचान साझा भएको बताउनु भएको छ । मेचीनगर ४ को आयोजनामा आइतवार झापाको बाहुण्डाँगीमा लागेको एक दिने प्रथम तरुल उत्सवको उद्घाटन गर्नु हुँदै सांसद शर्माले नेपालीको पुरानो संस्कृति, परम्परा, संस्कार र पहिचान सबै साझा भएको बताउनु भएको हो ।


निर्वाचित भएपछिको पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले हिजो निर्वाचनका बेला कसले कुन झण्डा बोक्यो, कसले कहाँ भोट हाल्यो होला, भोट र झण्डाको हिसाब किताब फेरी अर्काे चुनावमा गरौँला तर अबको ५ वर्ष यो पाटी भन्दा माथि उठेर एउटै साझा लक्ष्य बोकेर यस क्षेत्रका विकासका लागि अग्रसर हुनु पर्ने बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले तरुल महोत्सवले सामाजिक एकतामा बल पुग्ने बताउँदै अहिले बजारमा आएको पिजा खाँदै गर्दा आफ्नी हजुरआमाले हिजो बनाएको ढकनी होस या भुटेको मकै र कोदोको रोटीलाई बिर्सन नहुने बताउनु भयो । संसारमा जो जहाँ पुगे पनि आफ्नो देश, आफ्नो संकार संस्कृति र पहिचानलाई कसैले भुल्न नहुने बताउनु भयो ।

उहाँले मेचीनगर ४ ले आयोजना गरेको यो उत्सवको प्रशंसा गर्दै देशमै पहिलो पटक आयोजना गरेको कार्यक्रमले यस क्षेत्रको पहिचान र संस्कारलाई संरक्षण गरेको बताउनु भयो । साथै उहाँले यस क्षेत्रको विकासका कार्यमा वडा, नगर, प्रदेशको सहकार्यमा केन्द्रले सधैँ काम गर्ने बताउँदै यहाँका हरेक सुख दुःखमा साथ दिन सधैँ आफु रहने बताउनु भयो । कांग्रेस महान्त्री समेत रहनु भएका शर्माल हिजोको अवस्थामा जितेर गएका नेता जस्तो विश्वप्रकाशलाई खोज्न नपर्ने र सधैँ यहि ठाउँमा तपाईहरुसँगै रहने बताउँनु भयो ।


मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कुमार कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुबास तामाङ, मेचीनगरका निमित्त प्रशासकिय अधिकृत होमनाथ भण्डारी, सम्मानित व्यक्ति निरज कट्टेल, कृषि तथा पर्यटन अभियान्ता नरेन्द्र गुरुङलगायतले नौलो रुपमा सम्पन्न तरुल महोत्सव सफलताको कामना गरेका थिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मी, अग्रज पत्रकार चन्द्र भण्डारी, प्राज्ञ सुभद्र भट्टराईलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यसैगरी समापन कार्यक्रमको प्रमुख अतिथि मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी तथा विशेष अतिथि उपमेयर मिना उप्रेती रहनु भएको थियो ।
कार्यक्रमको स्वागत निलकण्ठ तिवारीले गर्नु भएको थियो भने सञ्चालन पुष्कर ढकालले गर्नु भएको थियो ।