संघ \संस्था

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्धारा मेमोरी किङ शर्मालाई सम्मान गर्दै

बाहुण्डाँगी, १० माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ ।

लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उहाँ लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ की असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो । शर्माले नेपाललाई विश्वमा चिनाउन पुरयाएको योगदान, मेचेलाई कृषि क्षेत्रमा पुरयाएको योगदान र काफ्लेलाई परिवारका निम्ति गरेको असल कार्यको योगदान गर्दै सम्मान गर्न लागिएको हो । प्रतिष्ठानले काम गर्ने भूइ मान्छेलाई सम्मान गर्ने गरेको अध्यक्ष बानियाँले बताउनु भयो ।

सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ भने उहाँहरुलाई कदरपत्र प्रदान गरिने बानियाँले बताउनुभयो । पुरस्कार छनोट समितिका पाँच जना सदस्यहरुले तीन जना प्रतिभाहरुको छनोट गरेको प्रतिष्ठानका अध्यक्ष बानियाँले जानकारी गराए ।
सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ ।

पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, हरि बानियाँ, मोहनप्रसाद बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।