झापा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको बिर्तामोड–२ मा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था देशकै नमुना सहकारी भएको बताएका छन् । उनले सहारा नेपाल साकोस बचत र ऋणमा मात्रै सिमित छैन, उनले भने सहारा नेपालले आफ्ना सदस्यको आर्थिक स्तरबृद्धिदेखि स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा उल्लेखिय कार्य गरिरहेको बताए ।

सोमबार कनकाई नगरपालिका स्थित जामुनखाडी सीमसार क्षेत्रमा सहारा नेपाल साकोसको दशौँ विस्तारित भेलालाई सम्बोधन गर्न झापा आएका मन्त्री गिरीले सहारा विपन्न तथा अशक्तहरुको अभिभावक भएको बताए । उनले सहाराले कृषि, शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा अतुलनीय काम गरेर गर्व गर्न लायक भएको धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ सल्लाहकार कमल प्रसाद चौलागाई, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले संस्थाको दश वर्षे रणनीतिक योजना प्रस्तुत गरेको थिए । कार्यक्रममा संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

