खेलकुद

तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबलाई

मेचीनगर । झापाको धुलाबारीमा जारी “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९” को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३-० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । योसंगै विजेता टिम धरान भेट्रानले नगद ५० हजार प्राप्त गर्दा उपविजेता बनेको धरमपुरले ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

धुलाबारी भेट्रान क्लबको आयोजनामा गत माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका चर्चित ८ वटा भेट्रान फुटबल क्लबहरु सहभागी थिए ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजयी टिम धरान भेट्रान क्लबका रमेश गुरुङ खेलको म्यान अफ द म्याच र वेस्ट गोल किपर घोषित भए । व्यक्तिगत विधामा धरानले वर्चश्व कायम गर्दा धरान भेट्रानबाट बिष्णु सुनुवार बेस्ट डिफेन्स, बेस्ट मिडफिल्ड मित्र बस्नेत र प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत धरान भेट्रानबाट नै सन्तोस बस्नेत घोषित भए ।

उनीहरुसंगै विजेता तथा उपविजेता टिमका खेलाडीलाई अतिथिहरु झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, महासचिव सेरबहादुर बस्नेत (सुन्दर), मुस्ताङ वियर मेची इन्चार्ज मात्रिका प्रसाई, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओम प्रकाश खापुङ्ग, मेची उद्योग वाणिज्य संघ सदस्य सन्तोष खवास, एन्फा फुटबल प्रशिक्षक सचिन्द्र धिमाल, धुलाबारी भेट्रान क्लबका अध्यक्ष गोकुल हुमागाई, सचिव सरोज गुङ्गलगायतले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरे ।

धुलाबारी भेट्रान क्लबका अध्यक्ष गोकुल हुमागाईको अध्यक्षतामा आयोजना भएको समापन सत्रको औपचारीक कार्यक्रममा मुस्ताङ वियर मेची इन्चार्ज प्रसाई, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष खापुङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार प्रकाश पौडेलले गरेका थिए ।