राजनीति

स्ववियुदेखि राष्ट्रिय राजनीतिमा उदाएका चर्चित नेताहरू

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)लाई राजनीतिमा नर्सरीको रुपमा लिने गरिन्छ । स्ववियुलाई विद्यार्थीका मुद्दाबारे आवाज उठाउने, समस्या समाधान गर्न पहल गर्ने, शैक्षिक सुधारका निम्ति पहल गर्ने थलोका साथै राजनीतिक नर्सरीको रूपमा समेत लिइन्छ ।

स्ववियुमार्फत उदाएका विद्यार्थी नेताहरू नै राजनीतिको मूल प्रवाहमा प्रवेश गर्ने गरेका छन् । स्ववियुबाटै उदाएका नेताहरु कोही पार्टीको उपल्लो तहमा छन् भने केहीले देशको नेतृत्व समेत गरिसकेका छन् । स्ववियुबाट उदाएका नेताहरु को–को छन् त ?

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को इतिहास हेर्ने हो भने २०१८ सालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन भएको देखिन्छ ।

स्ववियुले ६ दशकको इतिहास बनाइरहँदा स्ववियुबाट उदाएका केही नेताहरु पार्टीको उपल्लो तहमा छन् भने केहीले देशको नेतृत्व समेत गरिसकेका छन् ।

मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल पनि विद्यार्थी राजनीतिबाटै उदाएका नेता हुन् ।

उनी २०२३ सालमा सरस्वती क्याम्पसको स्ववियु सभापति बनेका थिए । विद्यार्थी राजनीतिबाट उदाएका अर्का नेता कांग्रेस समापति शेरबहादुर देउवा पाँच पटक देशको प्रधानमन्त्री बनिसकेका छन् ।

देउवा २०२७ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति बनेका थिए । पूर्वसभामुख दमननाथ ढुंगाना पनि विद्यार्थी राजनीतिबाटै उदाएका चर्चित व्यक्ति हुन् ।

उनी २०१९ सालमा त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापित भएका थिए ।

त्यस्तै, कांग्रेस नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाली कांग्रेसका महामन्त्री गगन थापा स्ववियुबाटै उदाएका नेता हुन् ।

पूर्वगृहमन्त्री खाँण २०४३ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका थिए भने थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्ववियु सदस्य बनेका थिए ।

कांग्रेसकै नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेललगायत पनि विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।

यस्त, नेकपा एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, यज्ञ सुनुवार, विशाल भट्टराई, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री पदम गिरी, महेश बर्तौला, नवीना लामालगायत नेताहरु पनि विद्यार्थी राजनीतिबाटै उदाएका नेता हुन ।

नेकपा माओवादी केन्द्रका नेताहरु हितमान शाक्य, हिमाल शर्मा, विना मगर पनि स्ववियु सभापति हुँदै पार्टी राजनीतिमा होमिएका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, कोशी प्रदेशको पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरु पनि स्ववियुबाटै राष्ट्रिय राजनीतिमा स्थापित भएका हुन् ।

पञ्चायती व्यवस्थामा दलहरु प्रतिबन्धित हुँदा दलीय राजनीतिको माध्यम स्ववियु नै थियो ।

विद्यार्थीका हकहित र शैक्षिक मुद्दामा मात्र नभई राजनीतिक र जनचासोका मुद्दामा पनि विद्यार्थी आन्दोलित हुन्थे । तर, पछिल्लो समय विद्यार्थी राजनीति भागबन्डामा अल्झिँदा स्ववियुको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

विगतको गौरवमय इतिहासलाई जोगाउँदै विद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउनु नै आजको प्रमुख चुनौती हो ।