मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरि वडा कार्यालयले बिहीबार चालू आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गरेको हो ।

गत बैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधि आएको अहिले एक बर्ष बित्यो । आर्थिक बर्ष २०७८/०७९ को बजेट विनियोजन गरेर आफ्नो कार्यभार सम्हालीरहेका मेचीनगर ४ का जनप्रतिनिधिले अहिले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै वडाबासीमाझ पुर्याएका छन् ।
आफुहरू जनताको मेेन्डेट लिएर काम गर्न आएको बताउँदै मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले पहिलो बर्षको बार्षिक प्रगति विवरण सबैमाझ सार्वजनिक गरेको बताए । उनले निर्वाचित भएको पहिलो बर्ष भएकाले धेरै बिषयमा जान्न समय लागेकाे कारण अझै कार्य सफलता हासिल गर्न सक्ने अवस्था नरहेको बताए । साथै उनले अबका दिनमा अनुभवका आधारमा पनि थप कार्य सम्पादन गर्न सक्ने बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका वडाबासीहरू मध्ये सागर कार्की, पुष्कर ढकाल, विकास प्रधान, शिशिर चम्लागाईलगायतले वडा कार्यालयको तर्फबाट सम्पन्न भएका, हुँदै गरेका र हुन आटेका योजना तथा कार्यक्रमहरूको बारेमा जिज्ञासा, चासो र प्रतिक्रिया राखेका थिए ।
वडा कार्यालयको सभाहलमा आयोजना भएको वडाध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक समाज बाहुण्डाँगीका अध्यक्ष तथा पुर्व साविक बाहुण्डाँगी गाविस अध्यक्ष निलकण्ठ तिवारीको प्रमुख आतिथ्य रहेको थियो ।

वडाका जनप्रतिनिधि, सक्रिय राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र वडाबासीको सहभागीता रहेको कार्यक्रममा स्वागत वडा सदस्य पवन बराईलीले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा सचिव युवराज पोखरेलले गरेका थिए ।

