हेटौडा, श्रावण ८ । केही दिन रोकिएर फेरि शुरु भएको बर्षाले उग्र रुप लिन थालेको छ । मंगलबार बेलुकादेखिको फेरी भारी बर्षा शुरु भएको छ । वर्षाका कारण मकवानपुरमा क्षतिको क्रम शुरु भएको छ । अविरल वर्षाका कारण कर्रा खोलामा आएको बाढीले भारतीय ट्रक बगाएको छ । हेटौंडा–१७ स्थित कर्रा खोलामा आएको बाढीले हटियामा रहेको शिवम् सिमेन्टमा सामान अनलोड गरेर फर्कदै गरेको युपी ५६ टी ४०३९ नम्बर ट्रक कर्रा खोलामा आएको बाढीले बुधबार विहान करिब ६ बजे बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिनुभयो ।
भारतीय २९ वर्षीय चालक पूर्ण बासीले भने भागेर ज्यान बचाएका छन् । उनी सम्पर्कमा रहेको प्रनि बुढाथोकीले बताउनुभयो । अनलोड गरी फर्कने क्रममा चालकले बाटोको ट्र्याक बिर्सेर कर्रा खोलातर्फ ट्रक लगेका थिए । त्यहाँको बाढीले ट्रकलाई बिस्तारै खोलातर्फ लगेको थियो । ट्रक पुरिए पनि मानवीय हताहात नभएको प्रहरीले जनाएको छ । पानी परिरहेकोले ट्रकलाई निकाल्न कठिनाइ भएको जनाइएको छ । ट्रक पूर्णरुपमा पुरिएको प्रहरीले बताएको छ ।
पानीले पहिरो जाँदा हेटौंडाबाट हटिया हँदै फापरबारी, राईगाउँ पुग्ने धरान–चतरा सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत् बकैया–५ को श्रीपुरमा पहिरो जाँदा छतिवन, फापरबारी, राईगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको छ । दुईदेखि तीन सय मिटरसम्म पहिरो गएकोले बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । सडक अवरुद्ध भएसँगै छतिवन, फापरबारी, राईगाउँ जाने सवारी बीच बाटोमै रोकिएका छन् । पानी परिरहेकोले पहिरो खसिरहेको बताइएको छ । जनबोली

