झापा । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गर्ने विरुद्ध कारबाहीको माग गरिएको छ । मैनालीले कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अभद्र व्यवहार गर्ने स्थानीय भुपाल ओली विरुद्ध उजुरी दिएका छन् ।
कोशी प्रदेशका पूर्व सदस्य मैनालीलाई ओलीले बुधबार विहान दुर्व्यवहार गरेका थिए । काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा दुव्र्यवहार भएको मैनालीले जानकारी दिए । द्रोणचार्य क्षेत्रीको ३० औं स्मृति सभामा सहभागी हुन मैनाली खानेपानीको सभाहल जाने क्रममा ओलीले अभद्र व्यवहार गरेको बताइएको छ । मैनालीले भने – ‘मसँग असम्बन्धित पुरानो विषय निकालेर ओलीले अभद्र व्यवहार देखाए । उनले गरेको दुव्र्यवहार विरुद्ध प्रहरीमा उजुरी दिएको छु ।’
भुपाल ओली यातायात व्यवसायी हुन् । उनले ४-५ वर्ष अघि काउन्टर माग गर्दा नपाएको भन्ने विषय निकालेर मैनालीलाई दुर्व्यवहार गरेको बुझिएको छ । मैनाली भन्छन् – ओली हिमाल नेपाल यातायात प्रा.लि. को कार्यवहाक भन्दै हिनेको याद छ, अन्य विषय थाहा भएन ।

मैनालीमाथि भएको अभद्र व्यवहार विरुद्ध मेचीनगरमा रहेका विभिन्न यातायात संघ संगठन, श्रमिक संघ संगठनहरुले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विज्ञप्ति मार्फत कारबाहीको माग समेत गरेका छन् । पूर्व मेची बस व्यवसायी प्रालिले विज्ञप्ति जारी गर्दै अमानवीय र अभद्र व्यवहार विरुद्ध भत्सर्ना गरेको छ ।
दुर्व्यवहार गर्ने ओली नेकपा एमालेमा आवद्ध रहेका छन् । उनलाई मेचीनगर कमिटीले कारवाहीका लागि जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

