समाचार

बिरिङ खोलामा आएको बाढीले पुल भासिदाँ, आवागमनमा ठप्प

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले पुल भासिएको हो।

पुल भासिएपछि बिर्तामोडहुँदै शनिश्चरे-खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध भएको छ । पुल भासिएपछि अहिले सवारी साधान आवातजावतमा रोक लगाउँदै दुवैतर्फ आवागमन ठप्प पारिएको छ ।

पुल भासिँदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतहमा पुगेको छ । अहिले पानी रोकिए पनि जुनसुकै बेला पुल भत्कन सक्ने अवस्थामा पुगेको छ ।

समयमै मर्मतसम्भार नहुँदा पुल भासिएको स्थानीय बताउँछन्। पुल जीर्ण हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेको उनीहरूको भनाइ छ।

पुल मर्मतका लागि बजेट विनियोजन गरिएको भए पनि मर्मत सम्भारमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी हिमराज सेढाईँले स्वीकार गर्छन्। ‘आर्थिक वर्षको अन्तिम समयमा पालिकाले जीर्ण अवस्थामा रहेको केही पुलहरूको मर्मतका लागि एकमुष्ट २० लाख रुपैयाँ छुट्याएको थियो। कामको चापले गर्दा असार मसान्तसम्म पुल ममर्त गर्न सकेनौं’, सेढाईंले भने।

बिरिङ खोलामा पानीको बहावलाई परिवर्तन गरी जाली भर्ने काम भए पनि तीव्र कटानका कारण पुल भासिएको हो । बाढीका कारण पुल भासिए पनि दुई वैकल्पिक मार्ग भने रहेका छन् ।

२०६५ सालमा भारत सरकारको  दुई करोड सहयोगमा पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै इलाम आवातजावत गर्ने बैकल्पिक बाटो सहज बनेको थियो।