संघ \संस्था

बेहुली झै सिँगारियो बेनी बजार

बाहुण्डाँगी । यतिबेला म्यादी जिल्लाको बेनी बजार बेहुली झै सिँगारिएको छ । बजारका गल्लि र चोकहरुमा विभिन्न सामाग्रीहरुको सजावटले बेनी बजार चिटिक्क बनेको छ ।
नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी हुँदै गर्दा सुन्दर बजार बेनी अझ सुन्दर देखिन थालेको छ । कालीगण्डकीको किनारमा रहेको यो बजार सझिसजाउ भएपछि यहाँको रौनक नै बदलिएको छ ।
म्याग्दी जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि बजार सरसफाइ, सझिसजाउ र विभिन्न ठाउँमा लगाइएको स्वागत गेटले सिँगो बजारको सुन्दरता बढेको छ ।
असोज ३, ४ र ५ गते हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनमा सहभागि हुन देशभरका जेसीजकर्मीहरु हिड्ने क्रम सुरु भएको छ ।
स्थापनाकालको २५ वर्षमा पहिलो पटक सम्मेलन गर्ने तयारी रहेको यो शाखाबाट नेपाल जेसीजले एक जना राष्टिय अध्यक्ष पाइसकेको छ । यस शाखाबाट २०१५ मा सिनेटर धनन्जय श्रेष्ठलाई अध्यक्ष बनाइसकेको छ ।
सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार लगायतको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । सम्मेलनलाई अविष्मरणीय बनाउन आर्थिक संकलन, प्रचारप्रसार, कार्यक्रमस्थल ब्यवस्थापन, होटल ब्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिका लगायतको काम अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।
क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको शाखा अध्यक्ष बानियाँको बताउनुभयो । उहाँले सम्मेलन सम्पन्न गर्न ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिदै सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । शाखाका पूर्व अध्यक्ष सुजन बरुवालले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगातातोपानी लगायत क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको म्याग्दी जेसिजले जनाएको छ ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुन आउनेहरुलाई म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल र कालीगण्डकी पाईने शालीग्राम उपहार स्वरूप मायाको चिनोको रुपमा दिने तयारी गरिएको क्षेत्र ख सम्मेलेननका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बेनीबजार सजावट सामाग्री पनि तयारी भएको छ भने विभिन्न जातजातीले देखाउने कलासंस्कृतिको नृत्य पनि तयारी भएको बताउनुभयो ।