झापा श्रावण २६ । तोकिएकै विद्यालयमा शिक्षा लिनुपर्ने कचनकवल गाउँपालिकाको निर्णय विरुद्ध विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । गाउँपालिको शिक्षा नीति एक विद्यालय, एक संकायको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले आइतबार हात र निधारमा कालोपट्टी बाँधेर सिटी जुलुस निकाल्दै गाउँपालिका घेराउ गरेका थिए ।
कचनकवल ५ स्थित बनियानी बजारमा भेला भएका करिब पाँच सय विद्यार्थीहरूले सिटी जुलुस प्रदर्शन गरी बजार परिक्रममा गर्दै करिब दुई घण्टा गाउँपालिका घेराउ गरेका थिए । गाउँपालिका घेराउ पश्चात् कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरूले निर्णय सच्याउन गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै दिएको तीन दिनको अल्टिमेटमभित्र पनि विद्यार्थीले राखेको माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको बताए । ‘पहिलो चरणको शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार कालोपट्टी बाँधेर सिटी जुलुस प्रदर्शन गरेका छौ’, अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले भने, ‘यस पश्चात् पनि गाउँपालिकाको नेतृत्व तहले निर्णय नसच्याए गाउँपालिकाविरुद्ध कडा आन्दोलनमा जान्छौ ।’
संविधानमा उल्लेख भए बमोजिम विद्यार्थीले पढ्न पाउने अधिकारलाई कुण्ठित पार्ने खेलमा गाउँपालिका लागेको बताउँदै उनले भने, ‘शिक्षा समितिमा विद्यार्थीको प्रतिनिधित्व गराउन गाउँपालिका चुकेकोले विद्यार्थीको भविष्यमा अन्योल सृजना भएको हो ।’ कोणसभामा नेपाल विद्यार्थी सङ्घका जिल्ला सचिव नारायण नेपाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विक लगायतले बोलेका थिए । गाउँपालिकामा रहेका माध्यमिक तहका तीन वटा विद्यालयलाई छुट्टाछुटटै सङ्कायमा पठनपाठन गराउने भनी गरेको निर्णयको विरोधमा त्यहाँका विद्यार्थीहरू आन्दोलित बनेका हुन ।
गत साउन १४ गते गाउँपालिकाको निर्णय अनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन सङ्काय, पथरिया माविमा व्यवस्थापन सङ्काय, अङ्ग्रेजी माध्यममा र लक्ष्मी प्रसाद देवकोटा माविमा व्यवस्थापन सङ्काय अङ्ग्रेजी माध्यममा मात्र पढाउनु पर्ने बाध्यकारी निर्णयले गाउँपालिकाका आम विद्यार्थी वर्गमा मार पर्न गएको हुनाले पहिला जस्तै विद्यार्थी वर्गलाई सर्वसुलभ पायक पर्ने गरी क्रमशः लक्ष्मी मावि, पथरीया मावि र लक्ष्मी प्रसाद देवकोटा माविमा शिक्षा र व्यवस्थापन सङ्काय दुवै माध्यममा अध्ययन गर्न पाउने भनी विद्यार्थी सङ्गठनहरूले साउन २१ गते बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

