धर्म संस्कृती संघ \संस्था

धार्मिक तथा ऐतिहासिक घैलाडुब्बा मन्दिरको स्तर बृद्धमा मेचीनगरको चासो

मेचीनगर । पुर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर स्तर उन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले बिगत लामो समयदेखि ओझेलमा पर्दै जिर्ण अवस्थामा रहेको मेचीनगरको उक्त मन्दिर स्तरबृद्धी गर्दै पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार मेचीनगर लागि परेको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको जनप्रतिनिधिको टोलीले पुरातात्त्विक महत्व बोकेको तर हाल जिर्ण अवस्थामा रहेको मेचीनगर ५ र ८ स्थित घैलाडुब्बा शिवालय मन्दिर स्तरबृद्धी गर्न प्राथमिकताका साथ चासो दिएर काम अगाडि बढाइरहेका छन् ।

सोही कार्यलाई निरन्तरता दिदैँ आज नगरपालिकाले पुरातात्त्विक विभागकाे उपसचिवसहितको टोलीलाई स्थलगत रूपमा नै फिल्डमा बोलाएर यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक बजेट छुट्याएर सहयोग पुर्याउन आग्रह समेत गरेकाे छ ।

मेचीनगरको पहिचानको रूपमा रहेको यस मन्दिरलाई स्तरबृद्धी गर्दै आवश्यक मर्मतसम्भार गर्न सके यसले समग्र मेचीनगरको आर्थिक विकासमा यसले टेवा पुर्याउने नगरप्रमुख बुढाथोकी बताउँछन् । उनले सय क्षेत्रलाई धार्मिक तथा पर्यटन संग जोडेर नगरको आम्दानीको स्रोतको रूपमा यसलाई अगाडि बढाइने योजना रहेको बताए ।

पुर्वकै पुरानो विरासत बोकेको यस ऐतिहासिक क्षेत्रलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय गरि अगाडि बढ्ने उपप्रमुख उप्रेती बताउँछिन् । उनले यस क्षेत्रको विकासका लागि आफुहरू लागि परिरहेको बताउँछिन् ।

यस अघि नगरपालिकाको आग्रहमा पुरातात्त्विक विभागबाट ३३ लाखको बजेटमा जिर्ण रहेको मुख्य मन्दिर बनाउने कार्य चलिरहेको बताउँदै त्यसलाई पुर्ण रूपमा सम्पन्न गर्न आफुहरू लागि परिरहेको उनको भनाइ छ ।

यता पुरातात्त्विक विभागका उपसचिवले बजेट अभावले अधुरो रहेको यस मन्दिर अब निरन्तर अगाडि बढ्ने बताए ।उनले यी र यस्ता पुरातात्त्विक मठ-मन्दिरको संरक्षण गर्न पुरातात्त्विक विभाग लागि परिरहेको बताए ।

अनुगमनमा नगर प्रमुख, उपप्रमुख, पुरातात्त्विक विभागकाे उपसचिवसहितको टोली, मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर सामाजिक विकास संयोजक तथा कार्यपालिका सदस्य हृदय राजवंशी, मेचीनगर पुर्वाधार विकास संयोजक तथा कार्यपालिका सदस्य चित्र धिमाल, न्यायिक समिति सदस्य तथा मेचीनगर ८ का वडासदस्य कुन्दन निरौल, मन्दिर व्यवस्थापन समिति अध्यक्ष चन्द्र कोइराला, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष सामाजिक अभियान्ता गणेश खरेललगायतको सहभागीता रहेको थियो ।