मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल हुँदैछ । आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा झापा एफसी राजगढ र ह्याप्पी क्लब काँकरभिट्टा आमनेसामने हुँदैछन् । प्रतियोगिताको उपाधी होडमा रहेका यी दुई टिमबिच निकै रोमान्चक खेल हुने आयोजक इँटाभट्टा फुटबल क्लबका उपाध्यक्ष रमेश धिमालले जानकारी दिए ।
स्थानीय दर्शको उल्लेख्य सहभागिता रहने यस खेलमा आज जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा दुवै टिम रहनेछन् । यसअघि सोमबार हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले ब्रदर्श युनाइटेड चन्द्रगढीलाई ट्राइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब आयोजकले बुधबार भोलि फाइनल प्रवेशका लागि शनिश्चरे फुटबल क्लबसंग खेल्नेछ ।
इँटाभट्टा फुटबल क्लबको आयोजना तथा मेचीनगर ८ वडा कार्यालय सहआयोजक रहि सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।
यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।

