मेचीनगर । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।
शनिबार विहान साढे ११ वजे मन्त्री यादव, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रज्राचार्य लगायतको टोलीले काँकरभिट्टा खानेपानी कार्यालयको अवस्था बारे जानकारी लिएको छ ।

संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले मन्त्री यादवको टोलीलाई कार्यालय स्थापनादेखि हालसम्मको गतिविधिको बारेमा अवगत गराएका थिए ।
२० बुँदामा समेटिएको दुई पन्नाको पत्रसमेत मन्त्री यादवको टोलीलाई अध्यक्ष बुढाथोकीले बुझाएका थिए । संस्थाको अवस्था बारे जानकारी लिएपछि मन्त्री यादवले देशभरिमा नै जेठो खानेपानी कार्यालय रहेको र भर्खरै प्रदेश सरकारबाट उत्कृष्ट भएकोमा प्रशंसा गर्दे अब देशभरिबाटै उत्कृष्ट हुने गरीको काम गर्न सुझाव दिएका थिए ।
संस्थाको दिशाजन्य लेदो व्यवस्थापनको प्रशोधन केन्द्र सूचारु भएपनि पाइलट आयोजना भएकोले डिजाइनमा त्रुटी हुँदा त्यसको सुधारका लागि मन्त्रीलाई ध्यानाकषर्ण गरिएको छ ।
२०४२ सालमा २ वटा बोरिङबाट मेचीनगर–६ का उपभोक्तालाई खानेपानी दिन सुरु गरेको संस्थामा हाल वडा नम्बर २, ३ र ४ का ८ हजार ५५ जना ग्राहक रहेका छन् ।
संस्थाका अनुसार साना शहरी आयोजनाको अब करिव ९ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ । अहिले संस्थाले २७० किलोमिटर पाइप लाइनबाट पानी वितरण गरिरहेको छ । संस्थाको पाँच वटा स्किमबाट दैनिक सरदर ६० लाख लिटर पानी वितरण गरिरहेको छ ।
भोलि मोरङ स्थित उर्लाबारी खानेपानीमा सञ्चालित सहलगानी आयोजनाको उद्घाटन गर्न आएका मन्त्री यादवले आज काठमाडौँबाट सोझै झापाका विभिन्न खानेपानी कार्यालयमा आएर अवलोकन तथा निरीक्षण गरेका थिए ।

