संघ \संस्था

समृद्ध नगर बनाउने अभियानमा साथ दिन मेचीनगरले गर्यो प्रधानमन्त्री ओलीलाई अनुरोध

मेचीनगर । समृद्ध नगर बनाउने अभियानमा सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगर नगरपालिकाले अनुरोध गरेको छ ।

आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टिमले नगरपालिकाको महत्वपूर्ण र दिर्घकालिन विकासका योजना र कार्यक्रमहरुलाई संघिय सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गर्दै नगरपालिकाले बुदागत रुपमा विषयबस्तु समेटेर प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र बुझाएको छ ।

स्थानीय स्रोत र साधानले मात्रै नगरको समग्र बिकास गर्न सम्भव छैन तसर्थ प्रधानमन्त्री मार्फत आवश्यक सहयोग र समन्वयका लागि बुदागत रुपमा विषयबस्तु समेटेर आग्रह गरिएको मेचीनगर प्रमुख बुढाथोकीले जानकारी दिए । अनुरोध पत्र बुझ्दै प्रधानमन्त्री ओलीबाट सकरात्मक संकेत आएको उनको भनाइ छ ।

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगर नगरपालिकाद्वारा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरि बुझाएको अनुरोध पत्र ।

सम्माननीय प्रधानमन्त्रीज्यु,
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,
सिंहदरबार काठमाडौँ।

विषयः अनुरोध पत्र |

कोशी प्रदेशको झापा जिल्लामा अवस्थित मेचीनगर नगरपालिका झापा जिल्लाको ठुलो नगरपालिका हो। मेचीनगर नगरपालिकालाई नेपालको पूर्वी सिमानाको प्रवेशद्वार पनि भनिन्छ । २०५३ सालमा तत्कालिन काकरभिट्टा र धुलाबारी गा.वि.स.लाई गाभेर नगरपालिका घोषणा भएको हो। यो नगरपालिका नेपालको पूर्वको प्रमुख उधोग तथा वाणिज्यको केन्द्र समेत हो। मेचीनगर नगरपालिकालाई दुइ वटा राजर्माग पुर्व पश्चिम राजर्माग र मेची राजर्मागले जोडेको छ। झापा जिल्लाका १५ वटा स्थानीय तह मध्ये एक मेचीनगर नगरपालिका तत्कालिन साविकका ५ वटा मेचीनगर नगरपालिका र ज्यामीरगढी, धाइजन, बाहुनडाँगी र दुवागढी गाविसहरु समेटी २०७३ सालमा मेचीनगर नगरपालिकाको स्थापना भएको हो। उत्तरमा इलाम जिल्लाको रोङ गाउँपालिका, पश्चिममा बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगरपालिका, दक्षिणमा भद्रपुर नगरपालिका र पूर्वमा भारतको पश्चिम ब‌ङ्गाल राज्य पर्दछ । नेपालको प्रमुख व्यापारिक नाका पनि यहि नगरपालिका पर्दछ । व्यापार पारवहन क्षेत्रमा समस्या सिर्जना भएका छन । त्यसको समाधानको लागि सार्थक पहल हुन जरुरी देखिएको छ । भारतबाट दिनहु प्रवेश गर्ने जंगली हातीको समस्या यस नगरको प्रमुख समस्याको रुपमा रहेको छ । यसको दीर्घकालीन समाधानको उपाय खोज्नु नितान्त आवश्यक रहेको छ र जरुरी समेत देखिन्छ । नेपालको सुदुरपूर्वी सिमाना झापा जिल्लामा अवस्थित यस मेचीनगर नगरपालिका क्षेत्रको बीच भाग भएर बहने निन्दा खोलाको दुरी ३३ कि.मि. छ, जहाँ पुर्व पश्चिम राजमार्ग बाहेक कतै मोटरेबल पुल नभएको अवस्था समेत रहेको छ। सुगम क्षेत्रमा अवस्थित भएता पनि यस नगरपालिका अर्धबिकसित नगरपालिकाको रुपमा रहेको छ । तसर्थ सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा नै यस नगरपालिकालाई सुगम क्षेत्रको अर्धविकसित नगरपालिकाबाट सुगम क्षेत्रको बिकसित नगरपालिका बनाउनका निमित्त यस अनुरोध पत्रमा उल्लेख भएका मोटरेबल पुल, अधुरा सडक, रिंगरोड, बसपार्क, खेलमैदान निर्माण लगायतका यस पालिकाभित्र रहेका अन्य समस्या समाधान तर्फ समेत आग्रहका साथ तपसिल बमोजिमका योजना तथा कार्यक्रम समाबेश गराइदिन हुन सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष सादर अनुरोध गर्दछु ।

सडक
१. संघिय निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक राधास्वामी, भावनाचोक, स्यांगलेटार, इलाम जोड्ने सडकको निरन्तरता ।
२. मेची करिडोर (काकरभिट्टा, बाहुनडाँगी, सलकपुर) को निरन्तरता ।
३. मेचीनगर रिंगरोड सडक ।
४. बुद्धशान्ति गा.पा. बाट लवनडाँगी, धाइजन, दुवागढी, पुरातुबारी जोड्ने करिव १२ किहिक।
५. हाती रिसोर्टबाट मानवसेवा आश्रम हुँदै उत्तर जाने सडक ।
६. तेलीबारी मैनालीबाडी सडक ।
७. सघन शहरिको कार्यक्रम अन्तर्गत भिभिन्न सडकहरुको निर्माण ।
८. मेचीनगर-६, ८, ५ हुँदै मेचीनगर-२ जोड्ने सुवर्ण मार्ग ।

पुल
१. भावना चोक भृकुटी जोड्ने निन्दा खोलामा पुल, मेनपा-२, ३
२. चौधरी चोक-हेल्दुबारी जोड्ने निन्दा खोलामा पुल, मेनपा-१५
३. निर्माणाधीन सुकेनिन्दा खोलामा पुलको निरन्तरता
४. तिरिंग खोला पुल, मेनपा-१
५. हडिया खोला पुल (कालिका सामुदायिक वनबाट डिषु डाँडासम्म वडा कार्यालय मेनपा-११ जाने बाटो), मेनपा-११
६. बाहुनडाँगी बजारबाट भारत नक्सलबारीबजार जाने बाटोमा मेची नदीमा झोलुंगे पुल निर्माण ।
७. मदन भण्डारी मार्गको पूर्वी प्रारम्भ बिन्दु पाटापुर र भारत जोड्ने मेची नदीमा पुल ।
८. ग्वालबस्तीमा झोलुंगे पुल, मेचीनगर-१५
९. महल्याचोकबाट पश्चिम ३ नं वडा कार्यालयसम्म जाने निन्दा खोलामा झोलुंगे पुल ।

बसपार्क
१. अन्तराष्ट्रिय सिमानामा रहेको नेपालको पुर्वीद्वार काकरभिट्टामा रहेको काकरभिट्टा बसपार्कलाई टर्मिनल भवन सहितको सुबिधासम्पन्न बसपार्क निर्माण, मेनपा-६

खेलमैदान
१. सुबिधा सम्पन्न खेल मैदान (स्टेडियम)

भवन
१. मेचीनगर-८ मा निर्माण भएको महिला सिप विकास केन्द्र संचालनका लागि बिशेष योजना ।

अन्य कार्यक्रम
१. राष्ट्रिय आवास कम्पनीले मेचीनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सार्वजनिक जग्गाको हस्तान्तरण ।
२. नेपाल, भारत, बंगलादेश पारवाहन मार्फत व्यापार कार्यको थालनी ।
३. भारत तर्फ पानीट्यांकीमा निर्माण भईरहेको सुक्खा बन्दरगाहमा प्लान्ट क्वारेन्टाइन स्थापना (हाल कलकत्तामा मात्र हुने गरेको)।
४. हात्ती प्रवेश रोकथाम तथा कटान नियन्त्रणका लागि सिमा मेची नदीमा बहुउद्देशीय कार्यक्रम ।
५. निन्दा नदीलाई जनताको तटबन्धन ।
६. मेचीनगरको गौरबको सिंचाई आयोजना सिद्धिनहरको स्तरोन्नति तथा कर्मचारी व्यवस्थापन।
७. कृष्णधुम्की पर्यटकीय स्थलमा चारधाम निर्माण ।
८. मेचीनगर-११ स्थित बहुआयामिक संग्राहलयको संचालन र व्यवस्थापन ।
९. मेनपा क्षेत्रमा नेपाल टेलिकमको व्यवस्थित टावर स्थापना।
१०. नेपाल प्रवेशद्वार काकरभिट्टामा बुद्धको मुर्ति सहित स्वागतगेटको निर्माण।
११. नेपाल चिया विकास निगम अन्तर्गत टोकला चिया कमानले भोग गरिरहेको जग्गा नापी गराईदिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण ।