काठमाण्डौं, भाद्र २१ । ब्राजिलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा २–१ ले पछि परेको ब्राजिललाई खेलको दोस्रो हाफमा नेयमारले गोल गर्दै बराबरी बनाएका थिए ।

खेलको १९ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।
खेलको ३५ औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए । तर, खेलको ५८ औं मिनेटमा नेयमारले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएर ब्राजिललाई हारबाट जोगाए ।
कोपा अमेरिकाअघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार कोलम्बियासँगको खेलबाट ब्राजिलियन टिममा फर्किएका हुन् ।

