स्वास्थ्य

हिमाली क्षेत्रमा पनि डेंगु, ताप्लेजुङमा पनि भेटिए डेंगु संक्रमित

ताप्लेजुङ, भाद्र २८ । हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको हो ।

संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलामा डेंगुको जस्तै लक्षण देखा परेपछि परीक्षण गरिएको थियो।

यसअघि पनि दुई जनामा डेंगुको संक्रमण देखा परेको भए पनि उनीहरु अन्य जिल्लामा गएर फर्किएकाले त्यही संक्रमण भएको अस्पतालको आशंका छ। तर यी महिला भने जिल्लाबाहिर पनि नगएको बुझिएको प्रमुख डा. लामाले बताए।

ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भए पनि डेंगुको संक्रमित भेटिनुले यसलाई चुनौतीको रुपमा लिनुपर्ने चिकित्सकहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published.