संघ \संस्था

इप्रका काँकरभिट्टाद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

मेचीनगर। इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शुक्रबार मेचीनगरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। पूर्व मेची बस व्यवसायी संघ प्रालिको सभाहलमा आयोजित कार्यक्रममा पूर्व कोशी प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। सिमावर्ती क्षेत्र भएकाले काँकरभिट्टा आसपास चोरी–पैठारी, अवैध गतिविधि, लागूऔषध ओसारपसार तथा दुर्व्यसनका घटना हुने जोखिम रहने उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोली सक्रियतापूर्वक परिचालित रहेको बताए। उनले प्रहरीका सकारात्मक अभियानलाई सफल बनाउन नागरिकको साथ, सहयोग र सूचनाको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङ, मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली तथा मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाले समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए। सहभागीहरूले शान्ति–सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सामाजिक अपराध न्यूनीकरणका विषयमा आफ्ना धारणा र जिज्ञासा राखेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी निशेष चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष राजेन्द्र रिजाल, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, माइती नेपालका संयोजक गोविन्द घिमिरे, युवा अभियान्ता बिक्की मजुमदारलगायत आफ्नो भनाइ राखेका थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सई मिलन राईले गरेकि थिइन् ।

प्रहरी र नागरिकबीच प्रत्यक्ष संवाद, गुनासा तथा सुझाव आदानप्रदान गर्दै समुदाय–प्रहरी साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी चम्लागाई जनाए ।