संघ \संस्था

बाढीपीडित क्षेत्रमा रोटरीको योगदान : झापामा विद्यालय भवन, शौचालय र १२ उच्च सतही चापाकल हस्तान्तरण

झापा । दक्षिणी झापाको बाढी तथा डुबान प्रभावित क्षेत्रमा शैक्षिक र खानेपानी पूर्वाधार सुदृढ गर्ने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरले विद्यालय भवन, शौचालय तथा उच्च सतही चापाकल निर्माण गरी हस्तान्तरण गरेको छ।

झापा गाउँपालिका–२ स्थित कुवाडी देवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चार कोठे पुनर्निर्मित विद्यालय भवन, नयाँ शौचालय तथा विभिन्न स्थानमा निर्माण गरिएका १२ वटा उच्च सतही चापाकल (हाइरेज ट्युबवेल) औपचारिक रूपमा हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको हो।

Screenshot

रोटरी क्लब अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकका अनुसार वर्षेनी आउने बाढीका कारण विद्यालय भवन डुबानमा पर्दा पठनपाठन प्रभावित हुँदै आएको थियो। सो समस्यालाई ध्यानमा राख्दै पुरानो भवनलाई पुनर्निर्माण गरी जमिनको सतहभन्दा करिब एक मिटर अग्लो बनाइएको छ, जसले बाढीको समयमा पनि शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसैगरी, झापा गाउँपालिका–२ कै सिमलबारी आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गरिएको छ भने बाढीको समयमा समेत सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले विभिन्न वडामा १२ वटा उच्च सतही चापाकल जडान गरिएको अध्यक्ष पाठकले जानकारी दिइन्।

Screenshot

कार्यक्रमकी प्रमुख अतिथि तथा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित क्षेत्रका नागरिक र विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्दै रोटरीले गरेको योगदान प्रशंसनीय रहेको बताइन्। उनले विद्यालय भवन, शौचालय तथा खानेपानी संरचनाले स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट रोटरी परिवारप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा रोटरी डिस्ट्रिक्टको विपद् व्यवस्थापन समितिका संयोजक सन्तोष ज्ञवाली, दातृ संस्था एलडिएससी (LDSC) का प्रतिनिधि कार्ल जोनसन र लिण्डा जोनसन, वडा नं. २ का अध्यक्ष हिमाल चौलागाईं, रोटरी डिस्ट्रिक्टका असिस्टेन्ट गभर्नर विनोद चापागाईं, डीएलएफ चियर कुमारमणि पोखरेल, विद्यालयका प्रधानाध्यापक मुकेश कुमार कर्ण लगायतले पुनर्निर्मित संरचनाले बाढीका बेला पनि शिक्षण सिकाइलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Screenshot

रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्रीले स्वागत मन्तव्य राख्दै परियोजनाबारे जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सचिव पवित्रा बिमली प्रसाईँले गरेकी थिइन्।

सोही अवसरमा कुवाडी देवी माध्यमिक विद्यालयका करिब २५० जना विद्यार्थीलाई ट्र्याकसुट, विद्यालय पोशाक तथा शैक्षिक सामग्री समेत वितरण गरिएको थियो।

रोटरी क्लब अफ मेचीनगरको नेतृत्वमा सञ्चालित उक्त परियोजनामा अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन संस्था एलडिएससी, रोटरी इन्टरनेशनल, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी डिस्ट्रिक्ट ३२९२ तथा रोटरी रिजन–७ अन्तर्गतका विभिन्न क्लबहरूको सहकार्य रहेको छ। करिब ७५ लाख रुपैयाँको लागतमा विद्यालय भवन, शौचालय तथा उच्च सतही चापाकल निर्माण गरिएको जनाइएको छ।

स्थानीय स्तरमा शिक्षा, सरसफाइ र सुरक्षित खानेपानीको पहुँच विस्तार गर्दै बाढी प्रभावित समुदायको जीवनस्तर सुधारमा यो परियोजना महत्वपूर्ण उपलब्धि मानिएको छ।