खेलकुद

विश्वकप फुटबल र हाम्रो उत्साह

प्रहार
जापान ।
यतिबेला संसारभरि विश्वकप फुटबलको चर्चा छ । हरेक घर, हरेक गाउँ र हरेक सहरमा फुटबलकै बहस सुनिन्छ । आआफ्नो मनपर्ने देश र खेलाडीको समर्थन गर्दै समर्थकहरू उत्साहित छन । मनपर्ने टोलीको जर्सी लगाउने, खेलाडीका तस्बिर सामाजिक सञ्जालमा राख्ने र आफ्ना विचार व्यक्त गर्ने कुरा अहिले सामान्यजस्तै भइसकेको छ ।

विश्वकप २०२६ को चर्चा चलिरहँदा म भने सहभागी राष्ट्र जापानमै बसिरहेको छु । एशियाली भएकाले अहिले जापानको समर्थन गर्नुपर्ने जस्तो लाग्छ तर मनले समर्थन गर्ने देश र खेलाडी अर्कै छन । यद्यपि मैले तिनको बारेमा धेरै प्रचारप्रसार गरेको छैन ।

यता जापानमा बसेर एउटा कुरा भने मलाई सधैं अचम्म लाग्छ । जापानका खेलाडीहरू विश्वकप खेलिरहेका छन्, तर यहाँ हामीले नेपालमा जस्तो अत्यधिक उत्साह देख्दैनौं । सडकमा जुलुस छैन, चोकचोकमा बहस छैन, कार्यालय र बजारहरू जापानी जर्सीले भरिएका छैनन । उनीहरू आफ्नो राष्ट्रिय टोलीलाई समर्थन गर्छन्, तर त्यो समर्थन प्राय संयमित र मर्यादित देखिन्छ । कहिलेकाहीँ त यस्तो लाग्छ कि विश्वकप नै चलिरहेको छैन तर यसको अर्थ उनीहरूलाई फुटबल मन पर्दैन भन्ने होइन; उनीहरूले आफ्नो उत्साहलाई फरक ढंगले व्यक्त गर्छन ।

अनि सम्झिन्छु मेरो देश नेपाललाई ! सायद अझै धेरै वर्षसम्म नेपाल विश्वकप खेल्न सक्ने अवस्थामा पुग्ने छैन । कतिपयलाइ त बिश्वकप कहिलेबाट सुरु भयो आफ्नो समर्थनको देशले हावा सम्म कति पटक बिश्वकप जित्यो या कति पटक हार्यो भन्ने पनि थाहा छैन तर नेपालमा विश्वकपको माहोल हेर्दा यस्तो लाग्छ, मानौं हामी वर्षौंदेखि विश्वकप खेलिरहेका छौं गल्लीगल्लीमा विदेशी खेलाडीका पोस्टर, विदेशी टोलीका झण्डा र जर्सी देखिन्छन । कतिपय बेला त मेसी, रोनाल्डो, एम्बाप्पे वा अन्य खेलाडीहरू नेपाली युवाका आफ्नै देशका खेलाडी हुन कि जस्तै लाग्छन ।

हरेक व्यक्तिको आफ्नो मनपर्ने देश र खेलाडी हुनु स्वाभाविक हो । सबैको रोजाइ एउटै हुन सक्दैन । खेलप्रतिको प्रेम र समर्थन पनि सकारात्मक कुरा हो तर जब त्यो समर्थन हदभन्दा बढी प्रदर्शनमा बदलिन्छ, जब त्यसकै कारण झगडा हुन्छ, जुलुस निकालिन्छ, सडक र बजार अवरुद्ध गरिन्छ, तब त्यो खेलप्रेमभन्दा बढी देखावटीपन र अतिबादि उत्साह जस्तो देखिन थाल्छ ।

कुनै पनि कुरा सन्तुलनमा राम्रो देखिन्छ । प्रेम पनि हदभन्दा बढी भयो भने मानिसहरूले त्यसलाई पागलपन भन्न सक्छन । त्यसैगरी खेलप्रतिको मोह पनि जब विवेकभन्दा माथि पुग्छ, तब त्यसबारे प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।

हामीले विश्वकपको आनन्द लिनुपर्छ, मनपर्ने टोलीलाई समर्थन गर्नुपर्छ, तर त्यो उत्साहले हाम्रो सामाजिक व्यवहार, आपसी सम्बन्ध र सार्वजनिक जीवनलाई असर गर्ने अवस्था भने आउनु हुँदैन । आखिर खेल भनेको मनोरञ्जन, प्रेरणा र एकताको माध्यम हो, विभाजन र विवादको कारण पटक्कै होइन ।