झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमा सुरक्षा र स्थानीय समस्याबारे जानकारी लिन ‘सीमाबासीसँग अन्तरक्रिया’ कार्यक्रम सञ्चालन गरेको छ।
शुक्रबार मेचीनगर–६ काँकरभिट्टाको गैरी गाउँबाट सुरु भएको कार्यक्रम शनिबार भद्रपुर नगरपालिकास्थित मोहपाल धर्मशालामा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य सीमावर्ती क्षेत्रका नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा सुन्ने तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल विओपी काँकरभिट्टाका प्रमुख डिएसपी विकास थापाको संयोजनमा आयोजित गैरी गाउँको कार्यक्रममा स्थानीयवासीले सीमा नाकाको वर्तमान अवस्था, सीमाबासीले भोगिरहेका समस्या तथा तिनको दीर्घकालीन समाधानबारे आफ्ना जिज्ञासा र सुझाव राखेका थिए।
यस्तै, भद्रपुरमा आयोजित अन्तरक्रियामा सहभागीहरूले भद्रपुर–गलगलिया नाका तथा खुला सीमाका कारण उत्पन्न हुने चुनौती, सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था र दैनिक जनजीवनसँग जोडिएका विषयमा सशस्त्र प्रहरीको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका प्रमुख एसपी अम्बिका प्रसाद जोशीले सीमाबासीसँगको सहकार्य बिना प्रभावकारी सीमा सुरक्षा सम्भव नहुने बताए। उनले सीमा सुरक्षासँगै अवैध सामान ओसारपसार, लागूऔषध कारोबार तथा अन्य सीमापार अपराध नियन्त्रणमा सशस्त्र प्रहरी दृढतापूर्वक सक्रिय रहेको उल्लेख गर्दै स्थानीय नागरिकलाई सूचना आदान–प्रदान र सहकार्यमा जोड दिन आग्रह गरे।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सीमावर्ती क्षेत्रका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

