काठमाण्डौँ, असोज ५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।
यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो । त्यस्तै काङ्ग्रेसले गत भदौ २४ गतेदेखि प्रारम्भ गरेको जागरण अभियान यही असोज ७ गते समापन हुँदैछ ।
यही बीचमा पार्टीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ ।

